कञ्चनपुरमा जवरजस्तीकरणी न्यूनीकरण गर्न ३ महिने कार्यक्रम हुने

– केशव पन्त
महेन्द्रनगर, १० चैत ।
कञ्चनपुर जिल्लामा जवरजस्तीकरणी न्यूनीकरण गर्न ३ महिने कार्यक्रम सञ्चालन हुने भएको छ । पछिल्लो समय कञ्चनपुर जिल्लामा बलात्कारका घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी ३ महिनासम्म कार्यक्रम सञ्चालन गर्न लागेको हो । ३ महिने कार्यक्रम अन्तर्गत सचेतना प्रदान गर्ने, अनुसन्धान र अभियोजन प्रभावकारी बनाउने, पीडित पक्ष र साक्षीहरुको संरक्षण तथा पुनस्र्थापना लगायत रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जवरजस्तीकरणी अपराध नियन्त्रणका लागि सरोकारवाला निकायसँग छलफल गरी ३ महिने कार्यक्रम तय गरेको हो । कार्यक्रम अन्तर्गत पहिलो चरणमा सचेतना प्रदान गर्न विद्यालयमा गएर विद्यार्थीसँग अन्तक्र्रिया गर्ने, स्थानीय सञ्चारमाध्यमहरुबाट विभिन्न चेतनामूलक र सन्देशमूलक सूचनाहरु सम्प्रेषण गर्ने, अभिभावकहरुसँग अन्तक्र्रिया लगायतका कार्य गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अविनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार बलात्कारका घटना बढ्नुमा अशिक्षा, चेतनाको कमी, पितृसत्तात्मक सोच, आर्थिक सामाजिक अवस्था, गरीबी र विखण्डीत पारिवारिक संरचना मूख्य देखिएको छ । बढ्दै गएको बलात्कारका घटना न्यूनीकरण गर्न कञ्चनपुरका ९ वटै गाविस तथा ५ वटा नगरपालिकामा कार्यक्रम सञ्चालन गरिने डिएसपी काफ्लेले बताउनुभयो । 

फेसबुक