विद्यार्थी संगठनद्धारा अनुगमन प्रतिवेदन कार्यान्वयन गर्न माग,

कञ्चनपुरका विद्यार्थी संगठनले जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले गरेको संयुक्त अनुगमन प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । ५ विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै अनुगमन प्रतिवेदन कार्यान्वयन गरेर दोषीमाथि कारवाहीको माग गरेका हुन् । अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष ओम बस्नेत, एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष सिके भट्ट, वैद्य माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रामबहादुर महरा, अखिल छैठौंका अध्यक्ष महेश जोशी र विप्लब माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले संयुक्त विज्ञप्ति जारी गर्नुभएको छ । संयुक्त अनुगमन प्रतिवेदन कार्यान्वयन हुनुपर्ने, पाठ्यपुस्तकमा भइरहेको कमिशनको खेल बन्द गरिनुपर्ने, सुपथ मूल्यमा पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने, दरबन्दी मिलानको प्रक्रिया अगाडि बढाउनुपर्ने, सामुदायिक विद्यालयमा पाठ्यपुस्तक समयमै उपलब्ध गराउनुपर्ने माग विज्ञप्तिमा गरिएको छ । सामुदायिक विद्यालय मर्ज गर्ने प्रक्रिया तुरुन्त अगाडि बढाउनुपर्ने र संस्थागत विद्यालयको स्तर निर्धारण गरी वार्षिक शुल्क निर्धारण गरिनुपर्ने माग गरिएको अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष सिके भट्टले बताउनुभयो ।
 

फेसबुक