महेन्द्रनगरमा सरकारी कार्यालयका भवनहरु नक्सा पास नगराएरै निर्माण हुँदै,

कञ्चनपुरमा निर्माणाधिन अधिकांश सरकारी कार्यालयका भवन भीमदत्त नगरपालिकाबाट नक्सा पास नगराएरै निर्माण भइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगर, प्रशासन कार्यालय कञ्चनपुर, मालपोत कार्यालय कञ्चनपुर, राष्ट्रिय अनुसन्धान, अञ्चल यातायात व्यवस्था कार्यालयले नक्सा पास नगरेरै कार्यालय भवन निर्माण गरिरहेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्र भवन निर्माण गरिरहेका अधिकांश सरकारी कार्यालयले भवन निर्माणको नक्सा पास नगराएको नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपयले नगरपालिकामा नक्सा पासका लागि आवेदन नै दिएका छैनन् भने कतिपयले प्रक्रिया पुरा नगरेरै निर्माण गरिरहेका छन् । नियमानुसार नक्सा पास नगरेर बनेको भवनलाई नगरपालिकाले जरिवाना असुलेर तोड्न सक्ने भएपनि सरकारी लगानी भएका भवनलाई तोड्दा सरकारलाई नै क्षति हुने देखिएको छ । मालपोत कार्यालय कञ्चनपुरले ४ तले भवन निर्माण गरिरहेको प्रमुख मालपोत अधिकृत कृष्णकुमार निरौलाले बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरको निर्माणाधिन कार्यालय भवनको समेत नक्सा पास नभएको भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षको सुरुदेखि भवन निर्माण संहिता कार्यान्वयनमा ल्याएको भएपनि सरकारी कार्यालयले नै नक्सा पास नगर्दा त्यसमा समेत समस्या परेको छ । 
 

फेसबुक