एमालेमा नेपाल पक्षको अनसन्तुष्टिका बीच नेताहरुको कार्यविभाजन

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षको अनसन्तुष्टिका बीच नेताहरुको कार्यविभाजन भएको छ । एमाले अध्यक्ष केपी ओलीको निबास बालकोटमा बसेको बैठकले महाधिवेशन भएको झण्डै ८ महिनापछि नेताहरुको कार्यविभाजन गरेको हो । महासचिव इश्वर पोखरेलले प्रस्तुत गरेको प्रस्तावमा सामान्य हेरफेर गरेर कार्यविभाजनको प्रस्ताव पास गरिएको छ । बैठकमा माधवकुमार नेपाल भने अनुपस्थित रहनुभएको थियो । नेपाल पक्षका सचिव योगेश भट्टराईले अध्यक्षले आफूहरुको कुरा नसुनेको भन्दै निर्णय नसच्याए नोट अफ डिसेन्ट लेख्ने बताउनुभयो । अर्का सचिव प्रदिप ज्ञवालीले नेपाल पक्षले नोट अफ डिसेन्टको कुरा गरेको स्वीकार गर्दै आपसी छलफल गरेर असहमतिको विषय टुङगोमा पु¥याउन सकिने बताउनुभयो । कार्यविभाजन अन्तर्गत अध्यक्ष ओलीलाई समग्र पार्टी नेतृत्व र पार्टी स्कुलको जिम्मेवारी दिएको छ । तर, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललाई भने आपसी छलफलबाट जिम्मेवारी दिइने जनाइएको छ । यस्तै, उपाध्यक्ष बामदेव गौतमलाई मध्यपश्चिम र किसान फाँट, विद्या भण्डारीलाई पूर्वाञ्चल र महिला, युवराज ज्ञवालीलाई पश्चिमाञ्चल तथा भीम रावललाई सुदूरपश्चिम र प्रवास र अष्टलक्ष्मी शाक्यलाई मध्यमाञ्चलको जिम्मेवारी दिइएको छ । यसैगरी, महासचिव इश्वर पोखरेललाई समग्र संगठनको काम, उपमहासचिव विष्णु पौडेललाई भुगोल, मोर्चा तथा पार्टी सम्बद्ध विभागहरुको अनुगमनन तथा संयोजन र घनश्याम भुसाललाई राज्य संचालनसँग सम्बन्धित तथा विभागहरुको समन्वय तथा अनगुमनको जिम्मेवारी दिइएको छ । 
 

फेसबुक