महाकाली नदीको पानी प्रयोगमा ल्याउन छलफल

केशव पन्त
महेन्द्रनगर, जेष्ठ ९ गते । 
कञ्चनपुरको चुरे क्षेत्र नजिकको खानेपानीमा चुनाको उच्च समस्या देखिएपछि महाकाली नदीको पानी प्रयोगमा ल्याउने विषयमा योजना बन्न थालेको छ । कञ्चनपुरको चुरे क्षेत्रमा रहेका खानेपानी आयोजना तथा हातेपम्पहरुमा चुनाको समस्या देखिन थालेपछि महाकाली नदीको पानी प्रयोगमा ल्याउने सम्बन्धमा योजना बन्न थालेको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार चुरेसँगै कञ्चनपुर सदरमुकाम स्थित खानेपानी आयोजना र भीमदत्त नगरपालिकाको तिलाचौरमा रहेको खानेपानी आयोजना समेत चुनाका कारण प्रभावित बनेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महेन्द्रनगरका शाखा अधिकृत गौराजबहादुर लिम्बुले पानीमा रहेको चुनाले मानव स्वास्थ्यमा असर नगर्ने भएपनि खानेपानीका पाईपहरु बन्द हुने गरेको बताउनुभयो । जमिन मूनिको पानीमा रहेको चुना विस्तारै पाइपहरुमा जम्दै जाने र पछि पानीको प्रवाह रोकिने उहाँले बताउनुभयो । उहाँका अनुसार तिलाचौर स्थित खानेपानी आयोजनाबाट वितरित अधिकांश पाईपहरु चुनाका कारण बन्द भएका छन् भने महेन्द्रनगर स्थित खानेपानी आयोजनाका पाईपहरुमा समेत चुनाले गर्दा समस्या भएको छ । खानेपानीमा रहेको चुना न्यूनीकरणका लागि जियोलाईट प्रविधि उपयुक्त हुने भएपनि धेरै लगानी लाग्ने भएकाले उक्त प्रविधि लागू गर्न नसकिने उहाँको भनाई छ । कञ्चनपुर र कैलालीमा चुनाको समस्या देखिएकाले महाकाली नदीको पानी प्रयोगमा ल्याउने योजना बन्न लागेको उहाँले बताउनुभयो । 
 

फेसबुक