भवन निर्माण संहिता लागु गर्ने तयारी केशव पन्त कञ्चनपुर, माघ ७ गते ।

कञ्चनपुरको झलारी–पिपलाडी नगरपालिकाले भवन निर्माण आचार संहिता लागु गर्ने तयारी गरेको छ । नेपाल सरकारले २०६० सालमा लागु गरेको भवन निर्माण संहितालाई नगरक्षेत्र भित्र लागु गर्ने विषयमा छलफल भइरहेको झलारी–पिपलाडी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत शेरबहादुर बुढाले जानकारी दिनुभयो । प्रत्येक नगरपालिकाभित्र भूकम्प प्रतिरोधी घर निर्माण गर्ने सरकारको दीर्घकालीन योजनालाई कार्यान्वयन गर्न पहल भइरहेको उहाँले बताउनुभयो । नगरपालिकाबाट अहिलेसम्म पुरानै तरिकाले नक्सापास गर्ने काम भइरहेको बताउदै निमित्त कार्यकारी अधिकृत बुढाले अब चाँडै नै सरकारले सार्वजनिक गरेको भवन आचार संहिता लागु गरिने र सोही अनुरुप नक्सा पास हुने बताउनुभयो । झलारी–पिपलाडी नगरपालिकाले आफ्नो पहिलो परिषद्बाट समेत भवन निर्माण आचार संहिताको पालना गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ । कञ्चनपुरमा हाल भीमदत्त नगरपालिकाले मात्रै चालु आर्थिक वर्षको साउनदेखि भवन निर्माण आचार संहिता लागु गरेको छ । 
 

फेसबुक