बंगलादेशमा चलिरहेको एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारतले विजयी सुरुवात

बंगलादेशमा चलिरहेको एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । गएराति ढाकामा भएको खेलमा भारतले आयोजक बंगलादेशलाई ४५ रनले पराजित गरेको छ । भारतले प्रस्तुत गरेको १ सय ६७ रनको लक्ष्य पछ्याएको बंगलादेशले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि सब्बिर रहमानले ४४, मुसाफिकर रहिमले नटआउट १६, तस्किन अहमदले नटआउट १५ तथा इमरुल कायसले १४ रन बनाए । भारतका आषिश नेहराले ३ तथा जसप्रित बुमराह, हार्दिक पाण्डेय र रविचन्द्रन आश्विनले समान १÷१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो । भारतका रोहित शर्माले ५५ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ८३ रन बनाए । यस्तै हार्दिक पाण्डेयले १८ बलमा ३१ तथा युवराज सिंहले १६ बलमा १५ रन बनाए । बंगलादेशका अल अमिन होसैनले ३ विकेट लिए । एसियन क्रिकेट परिषद् एसिसीको आयोजनामा सुरु भएको प्रतियोगितमा आयोजक बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र युएई सहभागी छन् ।
 

फेसबुक