डडेल्धुरा आलितालका क्रिकेट खेलाडी दिलबहादुर बोहरा इण्डियन प्रिमियर लिग आईपीएल खेल्न पाउने सौभाग्य नजिक

डडेल्धुरा आलितालका क्रिकेट खेलाडी दिलबहादुर बोहरा इण्डियन प्रिमियर लिग आईपीएल खेल्न पाउने सौभाग्य नजिक पुग्नुभएको छ । भारतको पञ्जाब क्रिकेट संघले उहाँलाई अन्तिम छनौटका लागि बोलाएको छ । छनौटको २ चरण सफलतापूर्वक पार गरिसक्नुभएका बोहराको अब अन्तिम छनौट चरण पार गर्नेपर्ने छ । आगामी मार्च ४ देखि १३ तारेखसम्म मोहालीमा हुने अन्तिम क्याम्पमा सफलता हासिल गर्न सके खेलाडी बोहरा किङ्ग्स इलेवेन पञ्जाबबाट आइपीएल खेल्न पाउनुहुने छ । टीमले बोहरालाई वार्षिक २५ लाख रुपैयाँमा अनुबन्ध गर्न सक्ने सम्भावना रहेको छ । उहाँलाई पञ्जाब क्रिकेट एसोसिएसनले पत्र पठाएर शुभकामना समेत दिँदैं आइपीएलमा सहभागिताका लागि अन्तिम छनोटसम्म पुग्ने पहिलो नेपाली क्रिकेट  खेलाडी रहेको जनाएको छ । पहिलो चरणको छनौटमा बोहराले ४२ बलमा ८४ रन र २ विकेट बटुलेपछि पञ्जाब क्रिकेट संघ उहाँको खेलबाट प्रभावित भएको थियो । दोस्रो चरणको छनौट फिटनेसमा पनि उहाँले सफलता पाउनुभएको छ । उहाँको अन्तिम छनौट पनि फिटनेस नै रहेको पञ्जाब क्रिकेट संघले पठाएको पत्रमा उल्लेख छ । नेपाली क्रिकेटमा गुमनाम बोहराको अधिकांश समय भारतमै बितेको छ । ७ कक्षाको अध्ययनलाई बिचमै छाडेर कामको खोजीमा भारतको पञ्जाब पुग्नुभएका बोहरा त्यहाँ छँदा पञ्जाब क्रिकेटसँग नजिकिनुभएको हो । यसअघि, धनगढी बसाईको क्रममा क्रिकेट खेल सुरुवात गर्नुभएका उहाँले केही प्रतियोगिता खेल्नुभएको छ । राष्ट्रिय प्रतियोगिताका लागि धनगढीमा भएको छनौट खेलमा उहाँले अविजित ५० रन बनाएपनि अन्तिम सूचीमा पर्न सक्नुभएन । उहाँ क्षेत्रीय स्तरको प्रतियोगिताबाटै फालिएपछि विरक्तिएर भारत पुग्नुभएको थियो । आगामी अप्रिल ८ देखि मे २९ तारिखसम्म भारतमा आइपिएल सिजन सुरु हुँदैछ ।
 

फेसबुक