जनचेतनाको कमीले धेरै जसो महिलाहरु पाठेघर र स्तन क्यान्सरको जोखिममा

जनचेतनाको कमीले धेरै जसो महिलाहरु पाठेघर र स्तन क्यान्सरको जोखिममा परेका विज्ञहरुले बताएका छन् । खासगरी कलिलै उमेरमा आमा हुने, धेरै पटक गर्भपतन गराउने, असुरक्षित यौन सम्पर्क तथा संक्रमण लगायतका कारणले महिलाहरुमा पाठेघरको क्यान्सर हुने गरेको विज्ञले जनाएका छन् । बच्चालाई स्तनपान नगराउने महिलालाई स्तनपान गराउने महिलालाईभन्दा स्तन क्यान्सरको जोखिम बढी हुने गरेको छ । क्यान्सरप्रतिको जानकारी र सचेतना व्यापक नभएकोले रोगको जोखिम बढेको स्त्री क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशीला वैद्यले जानकारी दिनुभयो । पहिलो चरणमा नै रोगको पहिचान भएमा पाठेघरको क्यान्सरको उपचार हुने भएपनि महिलाहरुमा परीक्षण गर्नुपर्ने भन्ने जनचेतना नभएको डाक्टर वैद्यले बताउनुभयो । यस्तै, क्यान्सर भए÷नभएको थाहा पाउन पाठेघर परीक्षण गर्ने प्रविधि ग्रामिण क्षेत्रमा नपुगेकाले पनि महिलाहरु क्यान्सरको जोखिममा पर्ने गरेको उहाँले बताउनुभयो । स्त्री क्यान्सर रोग विशेषज्ञ डाक्टर वैद्यका अनुसार २५ देखि ४५ वर्षका महिलाहरु पाठेघर क्यान्सरको जोखिममा धेरै पर्ने गरेका छन् । यस्तै, १२ वर्ष नपुग्दै महिनावारी भएका र ५० वर्षको उमेर पुगेर महिनावारी भइरहेका  महिलाहरु स्तन क्यान्सरको जोखिममा बढी पर्ने गरेका छन् ।
 

फेसबुक