दक्षिण अमेरिकामा महामारीको रुप लिएको जिका भाइरसको परीक्षण अब नेपालमै हुने

दक्षिण अमेरिकामा महामारीको रुप लिएको जिका भाइरसको परीक्षण अब नेपालमै हुने भएको छ । एडिस नामक लामखुट्टेको टोकाइबाट हुने जिका भाइरसको नेपालमा पनि जोखिम रहेको भन्दै  विश्व स्वास्थ्य संगठनले नेपाललाई जिका भाइरस परीक्षण गर्न ‘पिसिआए किट’ अर्थात् पोलिमर चेन रियाक्सन उपलब्ध गराएपछि नेपालमै परीक्षण गर्न सकिने भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. गीता शाक्यले संगठनले नेपाललाई भाइरस जाँचका लागि १ हजार किट उपलब्ध गराएको जानकारी दिनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले नेपालमा पनि विभिन्न मुलुकका मानिस आवतजावत गर्ने भएकाले समयमै सुरक्षा अपनाउन आवश्यक भएको बताउनुभयो । नेपाल तथा स्वास्थ्य संगठन समेतले जिका भाइरसको संक्रमण देखिएका ल्याटिन अमेरिकी मुलुकमा रहेका नेपाली गर्भवतीलाई अत्यावश्यक काम परेको अवस्थामा बाहेक जोखिमयुक्त मुलुकमा नबसी नेपाल फर्कन वा अन्यत्र बसाइँ सर्न नेपाली दूतावासमार्फत् आग्रह गरिसकेको छ । सकेसम्म अमेरिका लगायत संक्रमण देखिएका मुलुकमा गर्भ परीक्षण समेत नगराउन आग्रह गरिएको छ ।
 

फेसबुक