एसियाली फुटबल महासंघ ए.एफ.सी.ले तत्काल साधारणसभा गर्न अखिल नेपाल फुटबल संघ एन्फालाई निर्देशन दिएको छ

एसियाली फुटबल महासंघ ए.एफ.सी.ले तत्काल साधारणसभा गर्न अखिल नेपाल फुटबल संघ एन्फालाई निर्देशन दिएको छ । ए.एफ.सी.का पदाधिकारीले आज एन्फा कम्लेक्स सातदोबाटोमा एन्फाका अधिकारीहरुलाई भेटेर एन्फाको विवाद समाधान गर्न तत्काल साधारणसभा गर्न र आवश्यकता अनुसार विधानमा संशोधन गर्न भनेका छन् । एन्फाका अध्यक्ष गणेश थापा प्रतिबन्धमा परेपछि हाल नरेन्द्र श्रेष्ठले एन्फाको कार्यवाहक अध्यक्षता गरिरहनुभएको छ । त्यसैले एएफसीले साधारणसभा गरेर नेतृत्व चयन गर्न एन्फालाई भनेको हो । एफएफसीका डाइरेक्टर अफ मेम्बर एसोसिएसन एण्ड इन्टरनेसनल रिलेसन सञ्जीवन बालासिंघम र इन्टरनेसनल रिलेसन अफिसर पुरुषोत्तम कट्टेले एन्फा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठसहितका कार्यसमितिका पदाधिकारीलाई भेटेर साधारणसभा गर्न निर्देशन दिनुभएको हो । एन्फाको कारवाहीमा परेका ४ जनाले एन्फाले ७ महिनाअघि गर्न लागेको साधारणसभा रोक्न माग गर्दै अदालतमा निवेदन दिएपछि अदालतले तत्काल साधारणसभा नगर्न भनेको थियो । एएफसीको टोलीले अदालतमा जाने एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्वाङलाई मुद्दा फिर्ता लिन आग्रह गर्दै साधारणसभाको वातावरण बनाउने प्रतिवद्धता पनि जनाएको छ ।
 

फेसबुक